काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त नेपालले नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटवार्तामा क्षेत्रीय ऊर्जा सहकार्य, दिगो विकास तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित छलफल भएको छ।
चिनियाँ राजदूतसँगको भेटमा नेपाल–चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत विचारविमर्श भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ। विशेषगरी बढ्दो क्षेत्रीय ऊर्जा चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उपायहरूबारे दुवै पक्षबीच गहन छलफल भएको थियो। ऊर्जा र जलस्रोत क्षेत्रलाई साझा समृद्धि र जनहितसँग जोड्दै सहकार्य अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
त्यसैगरी, भारतीय राजदूतसँगको भेटमा नेपाल–भारतबीच ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा जोड दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार छलफलमा दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउँदै दिगो विकास, क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार र प्रवर्द्धन गर्ने साझा दृष्टिकोणमा सहमति जनाइएको छ।
मन्त्रालयले आगामी दिनमा निरन्तर संवाद, सहकार्य र समन्वयमार्फत द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त भएको जनाएको छ।
