अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले होर्मुज स्ट्रेट पूर्ण रूपमा आफ्नो देशको नियन्त्रणमा रहेको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मा लेख्दै अमेरिकाको अनुमतिबिना उक्त जलमार्गमा कुनै पनि जहाज आवतजावत गर्न नसक्ने बताएका हुन्।
उनले लेखेका छन्, ‘होर्मुज स्ट्रेटमा अमेरिकाको पूर्ण नियन्त्रण छ। अमेरिकी नौसेनाको स्वीकृतिबिना कुनै पनि जहाज त्यहाँ जान सक्दैनन्।’ साथै, इरानसँग सम्झौता नहुँदासम्म उक्त क्षेत्र पूर्ण रूपमा बन्द रहने दाबी पनि उनले गरेका छन्।
यसै क्रममा ट्रम्पले इरान भित्र नेतृत्वसम्बन्धी अन्योल रहेको टिप्पणी गर्दै कट्टरपन्थी र उदारवादीबीच गम्भीर द्वन्द्व भइरहेको दाबी गरेका छन्।
तर जापानस्थित इरानी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको उक्त अभिव्यक्तिलाई ‘पागलपन’ भन्दै कडा शब्दमा खण्डन गरेको छ।
विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने होर्मुज स्ट्रेटमा बढ्दो तनावले अन्तर्राष्ट्रिय राजनीति र ऊर्जा सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
