राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग अन्तर्गत पूर्वी खण्डमा पुल निर्माण कार्यले तीव्र गति लिएको छ। झापा, मोरङ, इलाम र सुनसरी जिल्लामा निर्माणाधीन ३७ वटा पुलमध्ये हालसम्म २५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। यो जानकारी मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, दमकले दिएको हो।
आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रमेशकुमार दत्तका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म फैलिएको १३१ किलोमिटर सडक खण्डमा यी पुलहरू निर्माण भइरहेका छन्। निर्माण सम्पन्न भएका पुलहरूको लम्बाइ २० मिटरदेखि ३०० मिटरसम्म रहेको छ।
वन क्षेत्रभित्र पर्ने स्थानहरूमा रुख कटानको अनुमति प्राप्त गर्न समय लागेकाले केही पुल निर्माणमा ढिलाइ भएको उनले बताए। कुल पुल निर्माण लागत रु ६ अर्ब १२ करोड ६२ लाख ५४ हजार रहेको छ भने सडक निर्माणतर्फ रु १० अर्ब १३ करोड अनुमान गरिएको छ।
जिल्लागत रूपमा हेर्दा झापामा पाँच वटा पुल निर्माण सम्पन्न भएका छन्, जसमा ढोङ्ग्रे खोला, खार खोला, दामा खोला, हँडिया खोला र गगटे खोला रहेका छन्। झापा–इलाम सीमामा पर्ने २२० मिटर लामो बिरिङ खोला पुल पनि निर्माण सम्पन्न भइसकेको छ।
मोरङमा धानखेती, खहरे, डाले, मुगु खोला, खुदुम, मोरङ्गी, तेली र सुनसरी खोलाका पुलहरू सम्पन्न भएका छन्।
इलाममा सबैभन्दा बढी १३ वटा पुल निर्माण सम्पन्न भएका छन्। तीमध्ये सुखानी शहादतस्थल, बुढी खोला, सुखानी खोला, टाङटिङ, गोयाङ, सानो नेते, ठूलो नेते, रतुवा, बुकुवा सानो, बुकुवा ठूलो, बिधुवा खोला, चाँजु खोला र बागद्वार खोला रहेका छन्।
हाल १२ वटा पुल निर्माणाधीन अवस्थामा छन्, जसमा मोरङका आठ र सुनसरीका चार वटा रहेका छन्। मोरङका सोल्टी–१, सोल्टी–२, मिखि खोला, बालुवा खोला, सानो नेते, तुर्की खोला, हचुवा र साउने खोलाका पुल अन्तिम चरणमा पुगेका छन्। सुनसरीका रेल्वे रिभर, ठकुरी खोला, बाघ खोला र बगुवा खोलाका पुल निर्माण बाँकी छन्।
आयोजना सम्पन्न भएपछि पूर्वी नेपालको यातायात सहज हुने, आर्थिक गतिविधि विस्तार हुने तथा क्षेत्रीय विकासमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।'
