नेपालको अधिकांश भू–भाग हाल धुवाँ र धुलोजन्य वायु प्रदूषणले प्रभावित बनेको छ। केही दिनयता बढेको सुक्खा मौसम, उच्च तापक्रम र देशका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण वायु प्रदूषणको स्तर अत्यधिक बढेको वातावरण विभागले जनाएको छ।
विभागका अनुसार वायुमण्डलमा मानव आँखाले देख्न नसकिने सूक्ष्म कणहरू (PM2.5 भन्दा पनि मसिना कणहरू) को मात्रा उल्लेखनीय रूपमा बढेकाले वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको हो। यसका कारण काठमाडौँ, पोखरा, भैरहवा, विराटनगर, चितवनलगायतका सहरसँगै हिमाली क्षेत्रसम्मै प्रदूषणको असर देखिएको छ।
विभागले केही दिनदेखि नै नागरिकलाई सतर्क रहन आग्रह गर्दै आएको छ। राजधानीसहित तराईका धेरै स्थानमा बिहान, बेलुका तथा दिउँसो समेत धुम्म वातावरण देखिन थालेको छ। नागढुङ्गाबाट धादिङतर्फको दृश्यसमेत धुवाँ र तुवाँलोका कारण स्पष्ट देखिन छाडेको छ।
डढेलोविज्ञ सुन्दर शर्माका अनुसार अहिलेको अवस्था मानव स्वास्थ्यका लागि प्रत्यक्ष जोखिमपूर्ण बनेको छ। उहाँका अनुसार, “जहाँ–जहाँ डढेलो लागेको छ, त्यहाँको जनजीवन अत्यन्त कष्टकर बनेको छ। धुवाँ र कालो कार्बन हावासँगै उच्च हिमाली क्षेत्रसम्म पुगिरहेको छ।”
बिहीबारसम्म देशका २५३ भन्दा बढी स्थानमा डढेलो लागेको पाइएको छ। तराईका अधिकांश भू–भाग धुवाँले ढाकिएको छ भने पश्चिम नेपालमा डढेलो अझै फैलिँदो अवस्थामा रहेको बताइएको छ। छिमेकी भारतमा कृषिजन्य अवशेष जलाउने क्रम पनि नेपालमा प्रदूषण बढ्ने अर्को कारण भएको अनुमान गरिएको छ।
वातावरण विभागले सञ्चालन गरेको वायु गुणस्तर सूचक प्रणालीअनुसार हाल केही स्थानमा खतरनाक स्तरको प्रदूषण देखिएको छ। भक्तपुरमा १९६, रत्नपार्कमा १८५, धुलिखेल र दाङमा १८४, भैँसेपाटीमा १८०, खुमलटारमा १७७, शङ्खपार्कमा १७४ तथा लुम्बिनीमा १७१ AQI सूचकांक मापन गरिएको छ। त्यस्तै अछाम, मुस्ताङ र जोमसोमलगायत हिमाली क्षेत्रमा पनि अस्वस्थकर वायु गुणस्तर देखिएको छ।
वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दम, खोकी र श्वासप्रश्वाससम्बन्धी रोगीहरूलाई गम्भीर असर पार्न सक्ने भएकाले विभागले सावधानी अपनाउन आग्रह गरेको छ। आवश्यक नभएको अवस्थामा घरबाहिर ननिस्कन, निस्कनै परे मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा सतर्क रहन विभागले अनुरोध गरेको छ।
