काठमाडौँ । रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार अधिवेशन स्थगित गरिएको हो । यसअघि सरकारले वैशाख ९ गते सिफारिस गरेपछि राष्ट्रपतिले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए ।
तर वैशाख १० गते सरकारले पुनः राष्ट्रपतिको कार्यालयमा पत्र पठाउँदै अधिवेशन स्थगित गर्न अनुरोध गरेको थियो । सो पत्रमा अधिवेशन पुनः कहिले आह्वान गर्ने भन्ने मिति भने उल्लेख गरिएको छैन ।
राष्ट्रपति कार्यालयले वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसका आधारमा अधिवेशन आह्वानको सूचना जारी गरेको थियो । पछिल्लो पत्रमा भने ‘विशेष कारण’ उल्लेख गर्दै अधिवेशन स्थगित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
अब सङ्घीय संसद्को अधिवेशन कहिले बस्ने भन्नेबारे सरकारको अर्को सिफारिसपछि मात्र टुंगो लाग्नेछ ।
