काठमाडौँ । नेपाललाई विश्व शान्तिको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘टुर डे लुम्बिनी–पेडल फर पिस २०२६’ आयोजना हुने भएको छ । आगामी वैशाख १५ देखि १९ गतेसम्म काठमाडौँ देखि लुम्बिनी सम्म साइकल यात्रा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
अभियानका संस्थापक मेघ आलेका अनुसार यस यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहनेछ । शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देशलाई जनस्तरसम्म पुर्याउने लक्ष्यका साथ यो कार्यक्रम सन् २०१२ देखि निरन्तर सञ्चालन हुँदै आएको छ ।
सामाजिक उद्यमी तथा अशोका फेलो आलेको अवधारणामा सुरु भएको अभियानलाई विश्व साइकल यात्री पुष्कर शाह ले नेतृत्व गर्दै आएका छन् । गौतम बुद्ध को जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश फैलाउने लक्ष्य यस अभियानको मूल उद्देश्य हो ।
संस्थापक आलेले नेपाल नेपाल भारत र चीनजस्ता ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको बताए । उनका अनुसार यो अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ ।
यस वर्षको संस्करण विशेषगरी युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहनेछ । डिजिटल युगमा युवाको ऊर्जा, शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वलाई जोड्दै दिगो र शान्तिपूर्ण भविष्य निर्माण गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ । यात्राका विभिन्न चरणमा स्थानीय समुदायको समेत सहभागिता रहने जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आलेले विश्वव्यापी द्वन्द्व—जस्तै रुस–युक्रेन युद्ध र अमेरिका–इरान तनाव—का कारण बढ्दो अस्थिरताबीच यस्ता शान्ति अभियानको महत्त्व अझ बढेको बताए । भविष्यमा शान्ति क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारिएको छ ।
नेपाल पर्यटन बोर्ड का अधिकारीहरूले यस अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय सहभागिता बढाउन सकिएमा पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुग्ने उनीहरूको धारणा छ ।
‘टुर डे लुम्बिनी–पेडल फर पिस’ अभियानले साइकल यात्रामार्फत शान्ति, सहअस्तित्व र विश्वव्यापी ऐक्यबद्धताको सन्देश प्रवाह गर्दै आएको छ ।
