काठमाडौं । दानबहादुर कार्की ले नेपालमा साइबर बुलिङसहित विभिन्न प्रकारका साइबर अपराध तीव्र गतिमा बढिरहेको बताएका छन्।
बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठकमा उनले इन्टरनेट र मोबाइलको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना उल्लेख्य रूपमा बढेको जानकारी दिए।
उनका अनुसार हाल प्राप्त तथ्यांकअनुसार साइबर अपराधमध्ये वित्तीय अपराधका उजुरी सबैभन्दा बढी छन्, जसको संख्या १० हजारभन्दा बढी पुगेको छ। त्यस्तै, ४ हजारभन्दा बढी फेक सामाजिक सञ्जाल एकाउन्टसम्बन्धी उजुरी र ३ हजारभन्दा बढी बुलिङ तथा ह्यारेसमेन्टका घटना प्रहरीमा दर्ता भएका छन्।
कार्कीले अनलाइन ठगी, एकाउन्ट ह्याकिङ, धम्की तथा यौनजन्य हिंसा जस्ता साइबर अपराध बढ्दो क्रममा रहेको बताए। उनका अनुसार इन्टरनेटको प्रयोगसँगै महिला र युवाहरू बढी प्रभावित भइरहेका छन्।
साइबर अपराध अनुसन्धानमा मुख्य चुनौती सामाजिक सञ्जाल प्लेटफर्महरूको कानुनी संरचना र अन्तर्राष्ट्रिय जटिलता रहेको उनले उल्लेख गरे। अधिकांश लोकप्रिय प्लेटफर्म विदेशी कम्पनीद्वारा सञ्चालन हुने भएकाले आवश्यक विवरण प्राप्त गर्न कठिनाइ हुने गरेको छ।
उनका अनुसार मेटा प्लेटफर्म्स अन्तर्गत पर्ने फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभएकाले प्रयोगकर्ता विवरण लिन तथा विवादास्पद सामग्री हटाउन समस्या हुने गरेको छ।
कार्कीले साइबर अपराध नियन्त्रणका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिँदै डिजिटल प्लेटफर्महरूलाई नेपालमा दर्ता गराउने र अपराधमा संलग्नलाई कडा कारबाही गर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
