काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले देशभरका सरकारी निकायमा कार्यरत कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारीको उपस्थितिको अभिलेख अब डिजिटल प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न स्पष्ट निर्देशन दिएको हो।
उक्त निर्देशनअनुसार, कार्यालयमा कार्यरत सबै कर्मचारीको दैनिक उपस्थिति, अर्थात् आउने र जाने समय, अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीमार्फत अभिलेख गर्नुपर्नेछ।
यदि कुनै कार्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू नभएको अवस्थामा पनि तत्काल प्रणाली स्थापना गरी सोही माध्यमबाट उपस्थिति विवरण राख्नुपर्ने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ।
यसले कर्मचारीको उपस्थितिमा हुने अनियमितता नियन्त्रण गर्न, समयपालन सुधार गर्न तथा प्रशासनिक अनुशासन मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, हाजिरी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित रूपमा राख्न पनि निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार यो निर्णय सरकारी सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यका साथ लागू गरिएको हो।

