काठमाडौं । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीचको सहकार्यपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। क्यूआर कोडसहितका स्मार्ट कार्ड उत्पादनलाई प्राथमिकता दिँदै सुरु गरिएको अभियानले लामो समयदेखि थन्किएको काम समाधानतर्फ उन्मुख भएको संकेत दिएको छ।
गत १२ कात्तिक २०८२ मा भएको सम्झौताअनुसार ६ महिनाभित्र १२ लाख स्मार्ट कार्ड छपाइ गर्ने लक्ष्य राखिएको थियो। हालसम्म ८ लाखभन्दा बढी कार्ड छपाइ सम्पन्न भइसकेको र बाँकी उत्पादन पनि तीव्र रूपमा जारी रहेको जनाइएको छ। यसले सरकारी कागजात उत्पादनमा आत्मनिर्भरता बढाउने प्रयासलाई समेत बल पुर्याएको छ।
यद्यपि छपाइ प्रक्रियाले गति लिए पनि सेवाग्राहीको समस्या भने अझै समाधान हुन सकेको छैन। आफ्नो लाइसेन्स तयार भयो वा भएन भन्ने जानकारी लिन सहज माध्यमको अभावले धेरै सेवाग्राही अन्योलमा परेका छन्।
यसअघि अनलाइन प्रणाली र एसएमएसमार्फत लाइसेन्सको अवस्था थाहा पाउने सुविधा उपलब्ध थियो। तर भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी तथा तोडफोड हुँदा केन्द्रीय सर्भरमा क्षति पुगेपछि वेबसाइट र एसएमएस सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
हालका लागि वैकल्पिक उपाय अपनाउनु सेवाग्राहीको बाध्यता बनेको छ। अधिकांश यातायात कार्यालयहरूले आफ्नो आधिकारिक फेसबुक पेज वा वेबसाइटमार्फत छापिएका लाइसेन्सको सूची सार्वजनिक गरिरहेका छन्। सेवाग्राहीले आफूले आवेदन दिएको कार्यालयको आधिकारिक पेजमा गई नाम खोजेर लाइसेन्सको अवस्था पत्ता लगाउन सक्नेछन्।
यदि सूचीमा नाम भेटिएमा, सेवाग्राहीले आवेदन दिँदाको सक्कल रसिदसहित सम्बन्धित कार्यालयमा उपस्थित भई लाइसेन्स बुझ्न सक्नेछन्। केन्द्रीय प्रणाली पूर्ण रूपमा पुनः सञ्चालनमा नआएसम्म यस्ता आधिकारिक सूचना माध्यम नियमित रूपमा हेर्नु नै सबैभन्दा भरपर्दो उपाय बनेको छ।
