इस्लामाबाद । पाकिस्तान को दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तस्थित एक खानी अन्वेषण केन्द्रमा भएको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने एक विदेशी कामदार अपहरणमा परेका छन्।
चागी जिल्लामा नेसनल रिसोर्सेज लिमिटेड द्वारा सञ्चालित तामा तथा सुन अन्वेषण केन्द्रमा बुधबार साँझ आक्रमण भएको सुरक्षा स्रोतले जनाएको छ। आक्रमणकारीहरूले साना हतियार र ग्रेनेड प्रयोग गर्दै शिविरमा तोडफोड तथा आगजनी गरेका थिए।
घटनामा तीन निजी सुरक्षा गार्ड र छ मजदुरको मृत्यु भएको पुष्टि भएको छ। सुरक्षा बलको जवाफी कारबाहीमा एक आक्रमणकारी मारिएको जनाइएको छ भने अन्य आक्रमणकारी फरार भएका छन्।
आक्रमणपछि सुरक्षा निकायले क्षेत्रमा व्यापक खोजी तथा अनुसन्धान अभियान सञ्चालन गरेको छ। हालसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन।
