काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन क्षेत्रका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतामा अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने उक्त टोलीले ऋण सम्झौता तथा सम्बन्धित कागजातहरूलाई अन्तिम रूप दिनेछ।
त्यसैगरी, २०७५ भदौ २१ गतेको मन्त्रिपरिषद् निर्णय संशोधन गर्दै महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः सोही प्रतिष्ठानले प्रयोग गर्ने निर्णय गरिएको छ। यसअघि उक्त जग्गा राष्ट्रपतिको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो।
यस्तै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सरकारले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।
सरकारका अनुसार यी निर्णयहरू प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा सूचना प्रविधि प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले गरिएको हो।
