काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले सार्वजनिक बिदाका दिन सरकारी अस्पतालहरूमा ओपीडी सेवा उपलब्ध नहुँदा बिरामीहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार ओपीडी सेवा प्रभावित हुँदा सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवामा पहुँच खुम्चिएको छ भने बिरामीमाथि थप आर्थिक बोझ समेत परेको छ। उनले यस्तो अवस्थाले सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वास कमजोर बन्ने खतरा औंल्याए।
पौडेलले आफू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मा रहँदा सार्वजनिक बिदाका दिनमा समेत सेवा निरन्तर राख्न अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिने नीति अघि बढाइएको स्मरण गराए। उनका अनुसार सरकारी अस्पतालमा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै ओपीडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र सेवा समय विस्तार गर्ने जस्ता सुधारका कामहरू सुरु गरिएको थियो।
स्वास्थ्य सेवा विशिष्ट क्षेत्र भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अतिरिक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनमा ल्याइएको पनि उनले बताए। साथै, अस्पतालहरूमा जनशक्ति अभाव हटाउन पहिलो चरणमा २५०० नयाँ स्वास्थ्यकर्मी थप गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनले सरकारी अस्पतालमार्फत गुणस्तरीय र सहज सेवा उपलब्ध गराउँदै निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्न सके मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बन्ने धारणा व्यक्त गरे।
विगतमा सुरु भएका सुधारका कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारलाई उनले आग्रह गरेका छन्।
