काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले यस कदमले सरकारको वास्तविक चरित्र उजागर भएको टिप्पणी गरेका छन्।
बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर बस्ती खाली गराउन निर्देशन दिएको आरोप लगाउँदै यसले सरकारको नीतिगत दिशामाथि गम्भीर प्रश्न उठाएको बताए। उनले निर्वाचनअघि सुकुम्बासी बस्ती संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराउँदै अहिलेको निर्णय त्यसको ठिक विपरीत भएको उल्लेख गरे।
उनले सुकुम्बासीलाई उचित व्यवस्थापन नगरी हटाउने नीति अवलम्बन गरिएको भन्दै आपत्ति जनाएका छन्। साथै, उनले निर्वाचनका बेला “सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भन्ने प्रतिबद्धता अहिले किन कार्यान्वयन नभएको भनी प्रश्न उठाएका छन्।
बस्नेतका अनुसार सडक विस्तार र फुटपाथ व्यवस्थापनको नाममा साना व्यवसायी तथा स्थानीयवासीमाथि अन्याय भइरहेको छ। भन्सार नीतिमा कडाइका कारण पनि गरिब तथा निम्न वर्ग थप प्रभावित भएको उनले बताए।
सरकारका पछिल्ला निर्णयहरूले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्दै अधिनायकवादी शैलीतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले यस्तो नीति जनविरोधी भएको टिप्पणी गरेका छन्। साथै, उनले यस्ता कदमविरुद्ध जनता लामो समयसम्म मौन बस्न नसक्ने चेतावनी समेत दिएका छन्।
