विराटनगर, वैशाख १० — नेपाल अति कम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुने प्रक्रियाले देशको टेक्स्टायल तथा कपडा उद्योग गम्भीर संकटमा पर्ने संकेत देखिएको छ। उद्योगी व्यवसायीहरूले यसलाई अवसरभन्दा बढी चुनौतीका रूपमा लिँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।
हाल नेपाल एलडिसी सूचीमा रहेकाले अमेरिकी बजारमा टेक्स्टायल तथा गार्मेन्ट निर्यात गर्दा शून्य भन्सार सुविधा पाउँदै आएको छ। तर स्तरोन्नतिपछि यो सुविधा हट्ने निश्चितजस्तै हुँदा नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा महँगो पर्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने चिन्ता व्यक्त गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी र सावतीले आयोजना गरेको अन्तरक्रियामा सहभागी उद्योगीहरूले यस्तो परिवर्तनले निर्यातमा ठूलो गिरावट आउने र रोजगारीमा प्रत्यक्ष असर पर्ने बताएका छन्। अनुमान अनुसार आगामी पाँच वर्षभित्र करिब १ लाख २५ हजार रोजगारी गुम्न सक्नेछ, जसमा ६८ हजार महिला कामदार पर्नेछन्।
सन् २०२६ देखि २०३० सम्म टेक्स्टायल तथा गार्मेन्ट उद्योग झनै खस्किने प्रक्षेपण गरिएको छ। सावतीका कार्यकारी निर्देशक पारस खरेलका अनुसार, सन् २००३ मा अमेरिकाले दिएको सहुलियत कोटाका कारण २२ करोड डलरसम्म गार्मेन्ट निर्यात पुगेको थियो। तर हाल यो घटेर वार्षिक ८ करोड डलरमा सीमित भएको छ।
विश्व बैंकको अध्ययनले नेपालबाट वार्षिक ११९ करोड डलरसम्मको टेक्स्टायल निर्यात सम्भावना देखाए पनि नीतिगत चुनौती र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका कारण त्यो लक्ष्य हासिल हुन सकेको छैन। स्तरोन्नतिपछि टेक्स्टायल निर्यात ७० प्रतिशतसम्म घट्न सक्ने चेतावनी दिइएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले कोटा प्रणाली समाप्त भएपछि उद्योग पहिले नै कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै अब प्रविधिमा लगानी र अन्तर्राष्ट्रिय बजार विस्तारमा ध्यान दिनुपर्ने बताएका छन्।
त्यसैगरी, खुला सीमा व्यवस्थाका कारण भारतबाट अवैध रूपमा भित्रिने कपडाले आन्तरिक बजारसमेत प्रभावित बनाएको उद्योगीहरूको गुनासो छ। प्रगति टेक्स्टाइल उद्योगका व्यवस्थापक प्रदीप निरौलाले अवैध आयात र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको दोहोरो दबाबले उद्योगको भविष्य थप अनिश्चित बनाएको बताए।
उद्योगीहरूले सरकारले व्यापार सहुलियत कायम राख्न द्विपक्षीय तथा बहुपक्षीय वार्ता अघि बढाउनुपर्नेमा जोड दिएका छन्, अन्यथा नेपाली टेक्स्टायल उद्योग गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
