काठमाडौं — नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनील शर्मा ले सबै तहका नागरिकका लागि समान स्वास्थ्य नीति लागू गर्न सरकारलाई आग्रह गरेका छन्। उनले विशेषगरी मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवामा राज्यले थप सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा, जसमा दुर्गा प्रसाईं लगायतका व्यक्तिहरू सहभागी थिए, डा. शर्माले विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण तथा लिभर ट्रान्सप्लान्ट सेवा राज्यले सुनिश्चित गर्नुपर्ने धारणा राखे।
उनका अनुसार संविधानले सुनिश्चित गरेका अधिकारहरू सबै नागरिकले समान रूपमा पाउनुपर्ने भए पनि व्यवहारमा स्वास्थ्य सेवामा विभेद देखिएको छ। उनले भने, “स्वास्थ्य सेवामा धनी र गरिब भन्ने हुँदैन। सरकारले चलाएका र सरकारनिकट व्यक्तिहरूले सञ्चालन गरेका अस्पतालहरूमा समेत सेवामा असमानता देखिन्छ।”
डा. शर्माले किड्नी रोगीहरूलाई औषधि खरिदमै सहुलियत दिनुपर्ने आवश्यकता औंल्याउँदै निजी क्षेत्रबाट समेत निःशुल्क प्रत्यारोपण सेवा विस्तार गर्न आफूहरू तयार रहेको बताए। उनका अनुसार हालसम्म उनको नेतृत्वमा रहेको अस्पतालमा ७२ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन् र ट्रान्सप्लान्ट सेन्टर देशकै उत्कृष्टमध्ये पर्ने दाबी पनि गरे।
डा. शर्माले वर्तमान सरकारले दुई तिहाइको समर्थन हुँदाहुँदै पनि स्वास्थ्य नीति समान रूपमा लागू गर्न नसकेको आरोप लगाउदै गरिब जनतामाथि काम गर्दा सरकारबाट पटक–पटक अवरोध र दुःख भोग्नुपरेको अनुभव पनि सुनाए।
उनले खाडी मुलुक जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने, गरिब वर्गको उचित व्यवस्थापन गर्नुपर्ने तथा विकास निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।
सोही अवसरमा उनले हाल चर्चामा रहेका गृहमन्त्री सुधन गुरुङ सम्बन्धी विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए। यदि ‘माल प्राक्टिस’ (गलत अभ्यास) प्रमाणित भए सत्य तथ्य सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो।
समग्रमा, डा. शर्माले राज्यले स्वास्थ्य सेवालाई सबै नागरिकका लागि समान, सहज र पहुँचयोग्य बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
