काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी का सहसंयोजक माधवकुमार नेपाल ले नेपालमा कम्युनिष्ट आन्दोलन ओरालो लागेको स्वीकार गर्दै त्यसलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
पार्टीको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरूकै अगाडि कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको उल्लेख गरे। हालैको प्रतिनिधिसभा निर्वाचन परिणामले कम्युनिष्ट पार्टीलाई ठूलो धक्का पुगेको पनि उनले स्वीकार गरे।
माधव नेपालले राजनीतिक जीवनमा उतारचढाव स्वाभाविक हुने भन्दै हारलाई सहज रूपमा लिनुपर्ने धारणा राखे। “पराजयलाई स्वीकार गर्न नसक्नेहरूले जित हासिल गर्न सक्दैनन्,” भन्दै उनले कार्यकर्तालाई निराश नहुन आग्रह गरे।
उनले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न नयाँ सोच र दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए। पार्टीभित्र गम्भीर समीक्षा र आत्ममूल्यांकन नगरी अघि बढ्न नसकिने उनको भनाइ थियो।
उनले ऐतिहासिक उदाहरण दिँदै चिनियाँ कम्युनिष्ट पार्टी पनि विभिन्न संकट र उतारचढाव पार गर्दै पुनर्जीवित भएको उल्लेख गरे। नेता माओत्से तुङ ले नेतृत्व गरेको पुनर्जागरणबाट चीनको कम्युनिष्ट आन्दोलन फेरि बलियो बनेको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै सम्भावना रहेको उनले बताए।
कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई पुनः सशक्त बनाउन कार्यकर्ताहरूलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढ्न आह्वान गरे।
