काठमाडौं — नेपाली कांग्रेस का सभापति गगन थापा ले पार्टीको आगामी १५औँ महाधिवेशनलाई भव्य र एकताको सन्देश दिने गरी सफल बनाउन आफू सबै तहका नेताहरूसँग निरन्तर संवादमा रहेको बताएका छन्।
विराटनगर विमानस्थल मा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले महाधिवेशनलाई समावेशी र एकतामूलक बनाउने उद्देश्यसहित सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
सभापति थापाले संघीय संसद्मा पार्टी प्रतिपक्षको भूमिकामा रहे पनि सातै प्रदेश र स्थानीय तहमा कांग्रेसको उपस्थिति बलियो रहेको उल्लेख गर्दै जनअपेक्षा पूरा गर्ने ठूलो जिम्मेवारी पार्टीमाथि रहेको बताए।
केन्द्रीय समितिको निर्णयअनुसार वर्तमान सरकारलाई सुशासन कायम गर्न तथा संविधानको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग रहने उनले स्पष्ट पारे।
जनताका प्रत्यक्ष सरोकारका विषय सम्बोधन गर्न पार्टी सधैँ तत्पर रहने उल्लेख गर्दै थापाले सांगठनिक सुदृढीकरण र जनसेवाका कामलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले आगामी यात्रा चुनौतीपूर्ण भए पनि सबैको साथ र सहयोगले कांग्रेसले देशलाई सही दिशा दिने विश्वास व्यक्त गरे।
