यातायात व्यवस्था विभाग ले हालै वृद्धि गरिएको सार्वजनिक सवारी भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। विभागले सूचना जारी गर्दै डिजेल इन्जिन प्रयोग गर्ने सवारी साधनमा मात्र भाडा वृद्धि गरिएको जनाएको हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार गत चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक सवारीको भाडा बढाइएको थियो। तर, उक्त वृद्धि डिजेलबाट सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीमा मात्र सीमित रहेको विभागले जनाएको छ।
पछिल्लो समय केही विद्युतीय सवारी चालक तथा सेवा प्रदायकले पनि बढेको भाडा असुल गरिरहेको तथा यात्रुलाई अनिवार्य रूपमा दिनुपर्ने टिकट नदिएको गुनासो आएपछि विभागले यस्तो स्पष्टिकरण दिएको हो।
विभागले सबै यातायात व्यवसायीलाई यात्रुसँग साविककै भाडा लिन र अनिवार्य रूपमा टिकट उपलब्ध गराउन निर्देशन दिएको छ। यदि यस निर्देशनको उल्लंघन गरी बढी भाडा असुल गरेको वा नियम पालना नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
