काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी का अध्यक्ष तथा सांसद महन्थ ठाकुर ले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले बढाएको कडाइप्रति असन्तुष्टि जनाएका छन्।
राष्ट्रियसभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ को बैठकमा बोल्दै उनले सीमा क्षेत्रमा गरिएको अनावश्यक कडाइका कारण मधेस तथा सिमाना आसपासका नागरिकले दैनिक सास्ती भोग्नुपरेको बताएका हुन्।
ठाकुरले नेपाल र भारत बीचको खुला सिमाना तथा सदियौँदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक र रोटी–बेटी सम्बन्धलाई सुरक्षा वा भन्सारको नाममा प्रभावित पार्न नहुनेमा जोड दिएका छन्। उनले दैनिक उपभोग्य सामग्री किनमेलका लागि सीमा वारपार गर्ने सर्वसाधारणमाथि अनावश्यक कडाइ र दु:ख दिने काम भइरहेको भन्दै आपत्ति जनाए।
‘सीमा क्षेत्रमा बसोबास गर्ने मधेसी जनताको दैनिकी पारिको बजारसँग जोडिएको छ,’ ठाकुरले बैठकमा भने, ‘तर अहिले कडा जाँच र निगरानीका कारण सर्वसाधारणले हरेक पाइला सास्ती भोग्नुपरेको छ। उनीहरूलाई अपराधीझैँ व्यवहार गर्न बन्द गरिनुपर्छ।’
उनले सुरक्षा जाँचलाई व्यवस्थित बनाउनु आवश्यक भए पनि त्यसको नाममा सर्वसाधारणलाई आतङ्कित पार्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे।
ठाकुरले सरकारलाई तत्काल सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइने सास्ती अन्त्य गर्न तथा सहज आवतजावतको व्यवस्था मिलाउन आग्रह गरेका छन्। साथै, आगामी आर्थिक वर्षको बजेटमा मधेसलाई प्राथमिकतामा राख्न पनि उनले माग गरेका छन्।
