काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजमा विद्यमान सबैखाले विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माणका लागि वामपन्थी शक्तिहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन्।
पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार सुनिश्चित गर्न तथा राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न सक्ने धारणा व्यक्त गरेका छन्।
प्रचण्डले विगतका बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै गरिब, किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको उल्लेख गरेका छन्। साथै, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा विकासका लागि समान विचारधारा भएका शक्तिहरूबीच सहकार्य र मोर्चाबन्दी आवश्यक रहेकोमा उनले जोड दिएका छन्।
उनले कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन र समाजवादको लक्ष्य हासिल गर्न छरिएर रहेका वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्। स्थापना दिवसको अवसरमा उनले सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
