काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघ भित्र आन्तरिक विवाद चर्किँदै गएको छ। अध्यक्ष भुवन सिंह गुरूङ र महासचिव महेश बस्नेत सहितका पदाधिकारीबीचको मतभेद तीव्र बन्दै जाँदा संघ दुई खेमामा विभाजित भएको देखिएको छ।
बुधबार महासचिव बस्नेतसहित केही कार्यसमिति सदस्यहरूको बैठकले अध्यक्ष गुरूङसँग औपचारिक रूपमा स्पष्टीकरण माग गरेको छ। स्पष्टीकरण पत्रमा संघको कार्यप्रणाली, निर्णय प्रक्रिया तथा सल्लाहकार हटाउने विषयमा गम्भीर प्रश्न उठाइएको छ।
अध्यक्ष गुरूङले कार्यसमिति सदस्यहरूलाई पर्याप्त जानकारी नदिई निर्णय गरेको, औपचारिक बैठक बिना अनौपचारिक रूपमा निर्णय अघि बढाएको तथा केही महत्वपूर्ण निर्णयहरू सबै पदाधिकारीलाई जानकारी नदिई गरिएको आरोप लगाइएको छ। विशेषगरी २०८३ वैशाख ६ गते बसेको भनिएको बैठकको वैधानिकतामाथि प्रश्न उठाउँदै त्यसको स्थान, समय, उपस्थिति र निर्णय प्रक्रिया बारे स्पष्ट विवरण माग गरिएको छ।
यसअघि अध्यक्ष गुरूङले दुई जना सल्लाहकारलाई पदमुक्त गरेपछि विवाद झन् चर्किएको हो। उक्त निर्णयको आधार र प्रक्रिया स्पष्ट पार्न पनि कार्यसमितिले माग गरेको छ। महासचिव बस्नेतका अनुसार सल्लाहकार हटाउने निर्णय कानुनविपरीत भएको र अध्यक्षले मनोमानी ढंगले काम गरेको आरोप छ।
यता अध्यक्ष गुरूङले आफूमाथि लागेको आरोपलाई निराधार, भ्रामक र योजनाबद्ध भन्दै खण्डन गरेका छन्। उनले संघ विधि र विधानअनुसार सञ्चालन भइरहेको दाबी गर्दै कार्यसमितिको बहुमत आफ्नो पक्षमा रहेको बताएका छन्। साथै, व्यवसायीहरूलाई अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।
अध्यक्ष गुरूङका अनुसार आफ्नो नेतृत्व वैदेशिक रोजगार व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको मर्यादा कायम राख्ने र पारदर्शिता प्रवर्द्धनमा केन्द्रित रहेको छ।
