काठमाडौं — प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधित्व नभएका जिल्लाहरूमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, प्रत्यक्ष निर्वाचनमा विजय हासिल गर्न नसकेका क्षेत्रहरूमा नागरिकसँगको सम्पर्क, समस्या समाधान र समन्वयलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको हो।
रास्वपाले जिम्मेवारी प्राप्त सांसदहरूको नाम, कार्यक्षेत्र, जिम्मेवारी विवरण तथा सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ। सूचीअनुसार कोशी प्रदेशका पाँचथर, भोजपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम र सोलुखुम्बु लगायत जिल्लामा समानुपातिक सांसद खटाइएका छन्।
त्यस्तै मधेश प्रदेशका धनुषा र रौतहट, बागमती प्रदेशका सिन्धुपाल्चोक र रसुवा, गण्डकी प्रदेशका म्याग्दी, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशका कपिलवस्तु, पाल्पा र बाँकेमा पनि प्रतिनिधि तोकिएको छ।
कर्णाली प्रदेशका जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोट तथा सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ, डोटी र अछाम जिल्लामा समेत समानुपातिक सांसदलाई जिम्मेवारी दिइएको छ।
पार्टीका अनुसार जिम्मेवारी पाएका सांसदहरूले स्थानीय तहमा नागरिकका गुनासा, सुझाव र समस्याहरू संकलन गरी सम्बन्धित निकायमा समन्वय गर्नेछन्। यस्तो अभ्यासले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध बलियो बनाउने तथा पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ।
