काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा पुरातत्व विभागका तत्कालीन वरिष्ठ डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार निर्माण कम्पनी तथा संयुक्त उपक्रमसँगको ठेक्का प्रक्रियामा अनियमितता गरी करिब रु ६४ करोड २१ लाख ८९ हजार बराबरको ठेक्कामा रु ४ करोड २२ लाख ७५ हजार ९८५ बराबर घुस लिएको देखिएको छ।
घुसबापत प्राप्त रकम देउकला अधिकारीको बैंक खातामा विभिन्न निर्माण कम्पनी तथा सम्वद्ध उपक्रममार्फत जम्मा गरिएको र सोही रकमबाट संयुक्त रूपमा जग्गा तथा सुन खरिद गरिएको, साथै विभिन्न व्यक्तिलाई भुक्तानी गरिएको अनुसन्धानमा खुलेको आयोगले जनाएको छ।
आयोगले भ्रष्टाचारबाट आर्जित रकम लुकाउने, रूपान्तरण गर्ने तथा हस्तान्तरण गर्ने कार्य समेत गैरकानुनी भएको ठहर गर्दै दुवै जनाविरुद्ध समान बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
