काठमाडौँ, वैशाख ६ गते । अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुससँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
शनिबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, संसदीय सहकार्य र हितका विषयमा विस्तृत छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
भेटका क्रममा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत नेपाल–टर्की सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै संसदीय अनुभव आदानप्रदान, भ्रमण तथा संसदीय मैत्री समूह गठनका लागि नेपाल तयार रहेको बताउनुभयो।
उहाँले नेपाल र टर्कीबीच करिब छ दशक लामो कूटनीतिक सम्बन्ध सौहार्द र आपसी सम्मानमा आधारित रहेको उल्लेख गर्दै सम्बन्धलाई थप विस्तार गर्न नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गर्नुभयो। हाल टर्कीसँग सम्बन्धित कार्यका लागि नेपालीहरू भारतको नयाँ दिल्लीस्थित दूतावासमा निर्भर रहनुपर्ने अवस्था रहेको पनि उहाँले उल्लेख गर्नुभयो।
जवाफमा सभामुख नुमान कुर्तुल्मुसले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन टर्की प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपालमा टर्की दूतावास खोल्ने विषयमा सकारात्मक रहेको समेत जानकारी दिनुभयो।
त्यसैगरी टर्की सरकारले नेपालका लागि सीमित कोटामा उपलब्ध गराउँदै आएको शैक्षिक छात्रवृत्ति वृद्धि गर्ने र द्विपक्षीय व्यापार विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ। आगामी नोभेम्बरमा टर्कीमा हुने कोप–३१ सम्मेलनका लागि आवश्यक सहयोगको अपेक्षा पनि टर्की पक्षले राखेको छ।
