धरान (सुनसरी), वैशाख ६ गते । १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज काठमाडौँ फाइनलमा प्रवेश गरेको छ। शनिबार इटहरी रङ्गशालामा भएको खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
खेलको पाँचौँ मिनेटमै रोमन भुजेलले गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए। त्यसपछि फागुराम थारूले उत्कृष्ट प्रदर्शन गर्दै २९औँ, ३३औँ, ६४औँ र ६८औँ मिनेटमा चार गोल गरे। प्रताप सिंह राईले ७८औँ मिनेटमा थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
सातदोबाटोका लागि सकल रेग्मीले ४७औँ मिनेटमा सान्त्वना गोल गरेका थिए।
उत्कृष्ट प्रदर्शन गरेका फागुराम थारू ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुने छ। विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, सर्वाधिक गोलकर्तालाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ।
