काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदहरूसँग सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन्। गृह मन्त्रालयमा भएको उक्त छलफलमा सीमा सुरक्षा सुदृढीकरण र भन्सार प्रणाली सुधारलाई प्राथमिकतामा राखिएको छ।
छलफलका क्रममा सांसदहरूले सीमा क्षेत्रमा कडाइका साथ निगरानी गर्नुपर्ने, भन्सार दर पुनरावलोकन गर्नुपर्ने र तस्करी नियन्त्रणका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने सुझाव दिएका छन्।
सांसदहरूले सीमावर्ती नागरिकलाई दैनिक उपभोग्य वस्तु ल्याउँदा निश्चित सीमा भित्र भन्सार छुट दिन स्पष्ट नियम बनाउनुपर्ने माग पनि गरेका छन्। साथै, किसानका लागि आवश्यक मलखाद र कृषि सामग्री सहज रूपमा उपलब्ध गराउन भन्सार प्रक्रिया सरल बनाउनुपर्ने विषय पनि उठाइएको छ।
गृहमन्त्री गुरुङले उठाइएका सुझावलाई गम्भीर रूपमा लिइने बताउँदै गृह मन्त्रालयसँग सम्बन्धित विषय तत्काल कार्यान्वयन गर्ने र अन्य विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर समाधान खोजिने बताएका छन्।
छलफलमा मधेश र लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूको सहभागिता रहेको थियो।
