नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनको उपचारपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। पित्तथैलीमा पत्थरीको शल्यक्रिया सफल भएपछि उनी शनिबार साँझ अस्पतालबाट बाहिरिएका हुन्।
उनको सचिवालयका अनुसार शल्यक्रिया भएको ६ दिनपछि ओलीलाई अस्पतालले डिस्चार्ज गरी भक्तपुरको गुण्डुस्थित निवास पठाइएको हो।
ओलीलाई चैत १४ गते प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि स्वास्थ्य जाँचका क्रममा त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यही क्रममा स्वास्थ्य समस्या देखिएपछि उनी अस्पतालमै भर्ना भएका थिए।
यसअघि नै पित्तथैलीमा पत्थरी देखिएपछि चैत ३० गते उनको शल्यक्रिया गरिएको थियो। त्यसयता चिकित्सकको निगरानीमा उपचारपछि अवस्था सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको बताइएको छ।
प्रहरीले अस्पतालमै हिरासतमा राखेर अनुसन्धान अघि बढाएको भए पनि स्वास्थ्य कारणले उपचार प्राथमिकतामा राखिएको थियो।
