काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको नेतृत्व विवादसम्बन्धी मुद्दा खारेज गरेसँगै पार्टीभित्र देखिएको लामो विवाद कानुनी रूपमा टुंगिएको छ। अदालतले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको टिमलाई दिएको आधिकारिकता सदर गरेको हो।
यस निर्णयसँगै करिब तीन महिनादेखि जारी रहेको कांग्रेसको आन्तरिक नेतृत्व विवाद अन्त्यतर्फ उन्मुख भएको छ। पूर्वमन्त्री मीन विश्वकर्माका अनुसार अदालतको फैसला स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा पनि छलफल भएको छ।
उनले भने, “सर्वोच्चको फैसला स्वीकार गर्ने निर्णय भएको छ, अब कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भएको छ।” उनका अनुसार पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापतिकै रूपमा रहने सहमति पनि बनेको छ।
गत वर्ष पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र नेतृत्वलाई लिएर विवाद चुलिएको थियो। त्यसपछि शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
सर्वोच्चको पछिल्लो फैसलासँगै अब पार्टीभित्र देखिएको विवाद राजनीतिक रूपमा समाधानतर्फ जाने अपेक्षा गरिएको छ।
