काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक तथा संरचनागत सुधारका एजेन्डामा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ। सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक आज दिउँसो ३:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा मुख्य रूपमा पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे विस्तृत छलफल हुने बताइएको छ। प्रस्तावित कार्यसूचीअनुसार ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषयलाई प्राथमिक एजेन्डा बनाइएको छ।
त्यसैगरी बैठकमा केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको विस्तार तथा विभिन्न विभागमा मनोनयन गर्ने विषयमा पनि छलफल हुने छ।
पार्टीका अनुसार बैंक खाता सञ्चालनसम्बन्धी नयाँ व्यवस्था, विभिन्न परियोजनाका लागि विज्ञ आह्वान, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, साथै आगामी केन्द्रीय समिति बैठकको तयारीबारे पनि निर्णय हुनेछ।
संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी व्यवस्थापनजस्ता आन्तरिक संगठनात्मक विषयमा समेत बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ।
