सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ मा शनिबार साँझ जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
लु.प्र. ०१००१ ज ०२७१ नम्बरको जिप कालीमाटीको लक्ष्मीपुरतर्फ जाँदै गर्दा पुथाला क्षेत्रमा दुर्घटना भएको हो। जिपमा १८ जना सवार थिए।
दुर्घटनामा मृत्यु हुनेमा मनबहादुर थापा, टोपबहादुर थापा, ठगे घर्ती र कर्णबहादुर पुन रहेका छन्। सबै मृतक सोही वडाका बासिन्दा भएको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उद्धार गरी सुर्खेतको मेहेलकुना अस्पतालसहित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
गम्भीर घाइते हुनेहरूमा ६४ वर्षीय अम्मरसिंह कँवर, २७ वर्षीय डम्मर घर्ती, ३० वर्षीय जनक थापा, ४९ वर्षीय भुपेन्द्र कँवर, ३० वर्षीय भुलबहादुर थापा, ५६ वर्षीय जुगसिंह पुन र चालक ३८ वर्षीय कुलबहादुर राना रहेका छन्।
त्यस्तै, ३८ वर्षीय अम्मर पुन, २८ वर्षीय नरसिङ थापा, २५ वर्षीय प्रेमबहादुर घर्ती, २५ वर्षीय नरबहादुर थापा, ३८ वर्षीय कर्णबहादुर थापा, ४५ वर्षीय लालबहादुर घर्ती र १५ वर्षीय तिलक थापा मध्यम घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
