मध्यपूर्व युद्ध सुरु भएयता इरानी अधिकारीहरूले इन्टरनेट पहुँचमा लगाएको प्रतिबन्ध ५० औँ दिनमा प्रवेश गरेको अन्तर्राष्ट्रिय अनुगमन संस्था ‘नेटब्लक्स’ ले जनाएको छ।
नेटब्लक्सले सामाजिक सञ्जाल एक्समा जनाएको अनुसार इरान करिब सात सातादेखि विश्वव्यापी इन्टरनेटबाट पूर्ण रूपमा अलग अवस्थामा छ। संस्थाले यसलाई ‘डिजिटल प्रतिबन्ध’ को ११७६ घण्टा पुगेको अवस्था भन्दै आधुनिक समाजका लागि अत्यावश्यक सेवा अवरुद्ध हुँदा नागरिकको जीवन र मानवअधिकारमा गम्भीर असर परेको बताएको छ।
रिपोर्टअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेपछि इन्टरनेट प्रतिबन्ध सुरु भएको हो, जुन यसअघि रेकर्ड गरिएको सबैभन्दा लामो राष्ट्रव्यापी बन्दभन्दा पनि लामो भएको जनाइएको छ।
नेटब्लक्सले उत्तर कोरियालाई उदाहरण दिँदै केही देशहरू कहिल्यै पूर्ण रूपमा विश्वव्यापी इन्टरनेटमा नजोडिएको भए पनि इरानमा हालको प्रतिबन्ध अत्यन्त गम्भीर अवस्था भएको उल्लेख गरेको छ।
यस अवधिमा इरानको आन्तरिक इन्ट्रानेट भने सञ्चालनमा छ, जसले सीमित रूपमा घरेलु वेबसाइटहरूमा पहुँच दिन्छ। तर अन्तर्राष्ट्रिय सूचना पहुँच र सामाजिक सञ्जाल प्रयोग भने अत्यन्त कठिन बनेको छ।
