रुवाण्डामा जारी पहिलो संस्करणको आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल पराजित भएको छ । शनिबार सम्पन्न खेलमा अमेरिकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७९ रनमै समेटियो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् । उनले ४५ बल खेल्दै एक चौकाको मद्दतमा उक्त योगदान दिइन् । कविता जोशीले ११ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको ब्याटिङ लाइनअपलाई दबाबमा राख्दै अमेरिकाका माहि माधवन र तरनुम चोपराले समान दुई–दुई विकेट लिए । त्यस्तै रितु सिंह, लेखा शेट्टी र सैनभीले एक–एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल आइतबार इटलीविरुद्ध खेल्नेछ ।
