काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत गरिने ‘अनलाइन उपचार’ र औषधि सिफारिसमा कडाइ गर्दै चिकित्सकलाई परीक्षण विना औषधि सिफारिस नगर्न स्पष्ट निर्देशन दिएको छ।
काउन्सिलका रजिष्ट्रार डा. शतिशकुमार देवका अनुसार टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्ममार्फत बिरामीको प्रत्यक्ष परीक्षण नगरी औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न भनिएको हो।
काउन्सिलले ‘अनलाइन परामर्श’का नाममा स्वास्थ्यसम्बन्धी श्रव्य–दृश्य सामग्री प्रसारण गरी उपचार सुझाव दिने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ। यस्ता गतिविधिले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै गलत औषधि प्रयोगका कारण गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
डा. देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको उचित परीक्षण, आवश्यक जाँच र चिकित्सकको प्रत्यक्ष मूल्याङ्कन विना औषधि सेवन गर्न सुझाव दिनु जोखिमपूर्ण हुने बताए। यस्तो अभ्यासले अनावश्यक जटिलता बढ्नुका साथै दीर्घकालीन हानि हुन सक्ने उनको भनाइ छ।
काउन्सिलले चिकित्सकलाई बिरामीसँग सम्बन्धित फोटो वा भिडियो सामग्री सामाजिक सञ्जालमा सार्वजनिक नगर्न तथा आवश्यक परेमा बिरामीको पहिचान नखुल्ने गरी मात्रै प्रयोग गर्न आग्रह गरेको छ।
साथै, सर्वसाधारणलाई पनि सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगर्न र योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको परामर्शमा मात्रै उपचार लिन अनुरोध गरिएको छ।
