काठमाडौँ । मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईँले वर्तमान सरकारसमक्ष स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्न जोडदार माग गरेका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ती सम्झौताहरू खारेज नगरेको भन्दै सरकारको आलोचना गरे। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाएका यस्ता सम्झौताहरू राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै उनले तत्काल पुनरावलोकन आवश्यक रहेको बताए।
प्रसाईँले सरकारलाई क्याबिनेटबाटै निर्णय गरेर नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नसमेत आग्रह गरेका छन्। ‘तपाईँहरूसँग बहुमत छ, क्याबिनेटबाटै निर्णय गरेर हिन्दू राज्य कायम गर्नुस्,’ उनले भने।
यसैगरी उनले राजसंस्था पुनःस्थापनाको मागसमेत अघि सारे। हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना भए निर्वाचन आवश्यक नपर्ने जिकिर गर्दै उनले त्यसका लागि आफू सडकमा उत्रिन तयार रहेको बताए।
उनले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वदलीय सरकार गठन गरी संविधान संशोधन गर्नुपर्ने धारणा पनि राखे। उनका अनुसार विवादित विषयहरू समाधान नगरी गरिएको निर्वाचन दीर्घकालीन रूपमा प्रभावकारी हुन सक्दैन।
‘पहिला संविधान संशोधन गरौँ, सर्वपक्षीय सरकार बनाऔँ, नमिलेका कुरा मिलाऔँ अनि मात्र चुनावमा जाऔँ,’ उनले भने, ‘तर हतारमा चुनाव गराइयो।’
प्रसाईँले सरकारलाई जनताको अपेक्षा अनुसार निर्णय लिन आग्रह गर्दै वर्तमान अवस्थालाई सुधार्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए।
