काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट प्रहरीले गाँजा/भाङको तेलजस्तो देखिने तरल पदार्थसहित एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनले बोकेको लगेज जाँचका क्रममा शङ्कास्पद वस्तु भेटिएपछि थप जाँच गर्दा उक्त पदार्थ बरामद गरिएको हो।
प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार Air India को एआइ–२१८ उडानमार्फत काठमाडौँबाट दिल्ली जान लागेका पेट्रोभको सामान स्क्रिनिङ गर्दा पाँच थान बोतलमा करिब १.२५ लिटर परिमाणको शङ्कास्पद तेल फेला परेको थियो।
बरामद गरिएको पदार्थ गाँजा वा भाङको तेलजस्तो देखिए पनि यसको प्रकृति पुष्टि गर्न परीक्षण गरिने प्रहरीले जनाएको छ। घटनापछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो को टोलीलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।
