अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने बताएका छन्। उनले इरानमाथि दबाब कायम राख्दै वार्तालाई निष्कर्षमा पुर्याउने रणनीति अपनाइने संकेत गरेका हुन्।
इजरायल र लेबनानबीच भएको युद्धविरामपछि इरानले स्ट्रेट अफ होर्मुज पुनः खुला गरेको छ। तर अमेरिकी नाकाबन्दी जारी रहेमा उक्त जलमार्ग फेरि बन्द गर्न सकिने चेतावनी तेहरानले दिएको छ, जसले क्षेत्रीय तनाव अझै कायम रहेको देखाउँछ।
तेहरान र वासिङ्टनबीच यसअघि भएको युद्धविराम अवधि समाप्त हुने क्रममा छ। युद्धविराम थपिन्छ वा होइन भन्ने प्रश्नमा ट्रम्पले यसलाई विस्तार नगर्ने तर नाकाबन्दी जारी राख्ने स्पष्ट पारेका छन्।
यसअघि पाकिस्तानमा भएको वार्तामा अमेरिका र इरानबीच मुख्य मुद्दाहरूमा सहमति जुट्न नसकेको बताइएको छ। दुवै पक्षका मागहरूबीच ठूला मतभेद रहेका कारण सम्झौता टुंगोमा पुग्न सकेको छैन।
ट्रम्पले Truth Social मार्फत प्रतिक्रिया दिँदै होर्मुज जलमार्ग खुल्दा सी जिनपिङ खुसी भएको दाबी गरेका छन्। साथै उनले बेइजिङमा हुने सम्भावित भेटलाई ऐतिहासिक हुने उल्लेख गरेका छन्।
त्यस्तै, ट्रम्पले इरानले आफ्नो संवर्द्धित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने अडान दोहोर्याएका छन्। तर इरानले यसअघि नै आफ्नो आणविक सामग्री कुनै पनि देशलाई नदिने स्पष्ट पारिसकेको छ, जसले वार्तामा अझै जटिलता कायम रहेको संकेत गर्दछ।
