काठमाडौँ । नेपाल महिला राष्ट्रिय क्रिकेट टोली ले आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत आज आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे रुवान्डा मा सुरु हुनेछ।
नेपाली महिला टोलीले पहिलो पटक रुवान्डामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगितामा नेपाल र अमेरिकासहित इटाली, आयोजक रुवान्डा र भानुआतु सहभागी छन्।
प्रतियोगिता राउन्ड–रोबिन ढाँचामा हुनेछ, जसअनुसार सबै टोलीले एकअर्कासँग दुई–दुई पटक खेल्नेछन्। अन्तिम अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।
आजदेखि सुरु भएको यो प्रतियोगिता वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो।
नेपाली टोलीलाई प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत बुधबार औपचारिक रूपमा बिदाइ गरेको थियो।
