काठमाडौँ । नेपाल पानी उद्योग महासंघ ले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ। कच्चा पदार्थ र ढुवानी खर्चमा भएको तीव्र वृद्धिका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन सम्भव नभएको भन्दै यस्तो कदम चालिएको हो।
शनिबार जारी विज्ञप्तिअनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्यापजस्ता सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी लागतसमेत उल्लेख्य रूपमा बढाएको महासंघले जनाएको छ।
महासंघका अनुसार पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थितिले पनि उद्योग प्रभावित भएको छ। विशेषगरी इरान–इजरायल तनाव तथा इरान–अमेरिका सम्बन्ध का कारण विश्व बजार र आपूर्ति प्रणालीमा परेको प्रभाव नेपालका उद्योगमा समेत परेको उल्लेख गरिएको छ।
हाल नेपालभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। सुरक्षित पिउने पानी आपूर्ति गर्दै आएको यो क्षेत्र लागत वृद्धिका कारण दबाबमा परेको महासंघले जनाएको छ।
विज्ञप्तिमा मूल्यवृद्धि नाफामूलक उद्देश्यले नभई उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण बाध्य भएर गरिएको स्पष्ट पारिएको छ। उद्योगको दिगोपन, गुणस्तर कायम र नियमित आपूर्तिका लागि मूल्य समायोजन अपरिहार्य बनेको महासंघको भनाइ छ।
महासंघले सरकारसँग उद्योग सञ्चालन सहज बनाउन, कच्चा पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न तथा ढुवानी लागत नियन्त्रणका लागि आवश्यक नीतिगत कदम चाल्न आग्रह गरेको छ। साथै, उपभोक्ता तथा सरोकारवालालाई मूल्य समायोजनमा सहयोग गर्न अनुरोध गरिएको छ।
