कैलाली मा मरेको कुखुराको मासु सेवन गर्दा एकै परिवारका दुई बालकको ज्यान गएको छ भने आमा र अर्का बालक गम्भीर बिरामी परेका छन्। घटना चुरे गाउँपालिका–३ भक्तपुरमा भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरू शुक्रबार मरेको कुखुराको मासु खाएपछि गम्भीर बिरामी परेका थिए।
दुवै बालकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो, जहाँ उपचारकै क्रममा शनिबार बिहान उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।
घटनामा बालककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका ३ वर्षीय छोरा दिपेश ताम्राकार पनि गम्भीर बिरामी परेका छन्। उनीहरूको अवस्था चिन्ताजनक रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार ताम्राकार परिवारले स्थानीय ‘विकास पोल्ट्री फार्म’बाट ल्याएको मरेको कुखुराको मासु सेवन गरेका थिए। उक्त फार्म मङ्गल साउदले सञ्चालन गर्दै आएका छन्।
घटना सार्वजनिक भएपछि फार्म सञ्चालक साउद आफैं इलाका प्रहरी कार्यालय मालाखेती मा उपस्थित भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
