काठमाडाैं । इरानले आफ्नो संवर्द्धित युरेनियम अमेरिका पठाउने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को दाबीलाई स्पष्ट रूपमा खण्डन गरेको छ। सम्भावित परमाणु सम्झौताका लागि वार्ता चलिरहेकै अवस्थामा आणविक सामग्री व्यवस्थापनको विषयमा दुई देशबीच गम्भीर मतभेद देखिएको हो।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सरकारी टेलिभिजनमार्फत बोल्दै इरानको संवर्द्धित युरेनियम कुनै पनि देशमा नपठाइने बताएका छन्। उनले यस विषयलाई वार्ताको ‘रेड लाइन’का रूपमा उल्लेख गर्दै राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको विषय भएको स्पष्ट पारे।
यसअघि डोनाल्ड ट्रम्प ले आफ्नो सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै इरानका परमाणु केन्द्रहरूमा भएको हवाई आक्रमणपछि बाँकी रहेको युरेनियम अमेरिका ल्याइने दाबी गरेका थिए। उनले ठूलो मेसिन प्रयोग गरी उत्खनन गरेर उक्त सामग्री अमेरिका फर्काइने र त्यसका लागि इरानलाई कुनै भुक्तानी नगरिने बताएका थिए।
हाल इरानसँग करिब ९०० पाउण्ड युरेनियम रहेको अनुमान छ, जसलाई ६० प्रतिशतसम्म संवर्द्धन गरिएको बताइएको छ। वासिङ्टनले इरानलाई परमाणु हतियार निर्माणबाट रोक्नुपर्ने अडान राख्दै आएको छ भने तेहरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ।
विवादका बाबजुद दुवै पक्षले सम्भावित सम्झौताप्रति सकारात्मक संकेत दिएका छन्। ट्रम्पले वार्ता राम्रो दिशातर्फ अघि बढिरहेको र छिट्टै निष्कर्षमा पुग्न सक्ने बताएका छन्, यद्यपि सम्झौता नहुँदासम्म इरानमाथिको सामुद्रिक नाकाबन्दी कायमै रहने उनको भनाइ छ।
