ताप्लेजुङ स्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन क्रमशः बढ्न थालेको छ। मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ।
कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त मानिन्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्तर्गत घुन्सा चेकपोस्टका अनुसार पछिल्लो एक महिनामा १६५ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।
वर्षमा दुई प्रमुख पर्यटकीय याम रहने गरेका छन्—पहिलो चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म। गत वर्ष पहिलो याममा मात्रै ७५० विदेशी पर्यटक आएको तथ्यांकले कञ्चनजङ्घा क्षेत्रप्रतिको आकर्षण बढ्दो रहेको देखाउँछ।
कञ्चनजङ्घा आधार शिविर पुग्न दुई प्रमुख पदमार्ग प्रयोगमा छन्। एउटा पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिकाबाट जाने मार्ग हो भने अर्को काठमाडौँबाट हवाईमार्ग हुँदै सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाबाट आधार शिविरतर्फ जाने बाटो हो।
पर्यटकलाई लक्षित गर्दै कञ्चनजङ्घा पदमार्गमा साना–ठूला गरी ५२ वटा होटल सञ्चालनमा छन्। फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा ठूलो लगानीमा ‘सिङ्गी नामजोंग होटल’ सञ्चालनमा आएको छ भने उच्च हिमाली क्षेत्रमा पनि करोडौँ लगानीमा होटलहरू विस्तार भइरहेका छन्।
पर्यटक आगमन बढेसँगै स्थानीय व्यवसायी उत्साहित बनेका छन्। यस क्षेत्रका समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ, र पछिल्लो समय युवापुस्ता विशेषगरी पर्यटन क्षेत्रमा आकर्षित हुँदै आयआर्जनका नयाँ अवसर सिर्जना गरिरहेका छन्।
