नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले सर्वोच्च अदालतको पछिल्लो फैसलाले पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ अवसर सिर्जना गरेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत् उनले उक्त निर्णयलाई जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गरे।
उनका अनुसार सम्मानित सर्वोच्च अदालत को निर्णयले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउँदै साझा यात्रामा अघि बढ्ने वातावरण तयार पारेको छ। थापाले यसलाई पार्टीलाई पुनः बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
सभापति थापाले पार्टीभित्र एकता मजबुत बनाउने अनुकूल परिस्थिति बनेको उल्लेख गर्दै सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। देशभित्र तथा विदेशमा रहेका समर्थकहरूले जिम्मेवारीका साथ पार्टीको पुनर्जागरणमा योगदान पुर्याउने विश्वास समेत उनले व्यक्त गरे।
उनले सभापतिको हैसियतले पार्टी सुदृढीकरणको प्रक्रियामा आफ्नो जिम्मेवारी सबैभन्दा ठूलो रहेको स्पष्ट पार्दै त्यसअनुसार सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
साथै, उनले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्ने सक्षम पार्टी निर्माणका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।
