काठमाडौं । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको प्रसिद्ध विस्केट जात्रा भव्य रूपमा सम्पन्न भएको छ। सपनतीर्थ मेलासँगै सुरु भएको जात्रा शुक्रबार साँझ लिङ्गो ढलाएसँगै औपचारिक रूपमा समापन गरिएको हो।
टोखा क्षेत्रमा नेवार समुदायको बाहुल्य रहेको छ, जहाँ हरेक वर्षझैँ यस वर्ष पनि परम्परागत शैलीमा धुमधामका साथ जात्रा मनाइएको थियो।
नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितका अनुसार वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दुर जात्राबाट विस्केट जात्राको औपचारिक सुरुवात हुने परम्परा छ। त्यसपछि वैशाख २ गते बिहान टोखा नगरपालिका–२ स्थित गणेशस्थान थलागटोलमा सिन्दुर जात्रा गर्दै रथलाई नगर परिक्रमा गराई माथिल्लो लाछिमा लगेर बिसाउने गरिन्छ।
वैशाख ३ गते बिहान पुनः सिन्दुर जात्रा गर्दै रथयात्रा सुरु हुन्छ। रथलाई गुठी तथा गुठियारका घर–घरमा पुर्याई बाली उठाउने चलन रहिआएको छ। दिउँसो हासलटोलमा रथ राखेर पूजा गर्ने परम्परा रहेको छ।
साँझ रथलाई सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकालीको परिक्रमा गरिन्छ र त्यसपछि सानो लाछिमा लगेर बिसाइन्छ। सोही रात गुठियारहरू भेला भई भजन–कीर्तन गर्दै जाग्राम बस्ने परम्परा पनि जीवित रहेको छ।
अन्तिम दिन बिहान सानो लाछीबाट सिन्दुर जात्रा गर्दै रथलाई गछेटोलमा लगेर बिसाइन्छ। त्यहाँ विधिपूर्वक सरकारी पूजा सम्पन्न गरी पुनः नगर परिक्रमा गरिन्छ र अन्ततः देवालयहरूमा भित्र्याउने गरिन्छ।
यसरी चार दिनसम्म सञ्चालन हुने टोखाको ऐतिहासिक विस्केट जात्रा यस वर्ष पनि सांस्कृतिक उल्लासका साथ सफलतापूर्वक सम्पन्न भएको छ।
