काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी स्थापना दिवस देशभर रचनात्मक कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले स्थापना दिवसलाई विशेष कार्यक्रमसहित मनाउने निर्णय गर्नुका साथै यसअघि तय गरिएका केही कार्यक्रमहरूमा संशोधनसमेत गरेको छ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले वैशाख ९ गते देशभरका सबै जिल्ला कमिटीहरूलाई अनिवार्य रूपमा रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ।
पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार काठमाडौं उपत्यकामा भने सोही दिन दिउँसो २ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिनेछ।
यस्तै, बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीसँग सम्बन्धित विषयमा वैशाख ७ र १२ गतेका लागि तय गरिएका कार्यक्रमहरू स्थगित गर्ने निर्णयसमेत गरेको छ।
एमालेले स्थापना दिवसलाई जनस्तरसम्म जोड्ने उद्देश्यसहित यसपटक रचनात्मक ढंगले मनाउने तयारी गरेको जनाएको छ।
