काठमाडौँ । सम्पदाको संरक्षण र यसको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर विश्व सम्पदा दिवस मनाइँदै छ।
युनेस्कोको पहलमा सन् १९८३ देखि हरेक वर्ष अप्रिल १८ मा यो दिवस मनाउने परम्परा सुरु भएको हो। यस दिवसको मुख्य उद्देश्य विश्वभर रहेका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षणप्रति ध्यानाकर्षण गराउनु हो।
हाल नेपालका विभिन्न क्षेत्रहरू विश्व सम्पदा सूचीमा सूचीकृत छन्। तीमध्ये काठमाडौँ उपत्यकाभित्रका वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्धनाथ स्तूप र स्वयम्भूनाथ स्तूप पर्छन्। साथै लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज पनि विश्व सम्पदा सूचीमा समावेश छन्।
यस अवसरमा आज काठमाडौँमा सम्पदा संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको छ। वाग्मती प्रदेश सरकारअन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालय मातहतको पर्यटन कार्यालयले गहना पोखरीदेखि भाटभटेनी मन्दिरसम्म सम्पदा पदयात्रा आयोजना गरेको छ।
कार्यालय प्रमुख पवनकुमार पोखरेलका अनुसार पदयात्रापछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्त्वबारे अन्तरक्रिया कार्यक्रमसमेत गरिनेछ। कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको सहभागिता रहने जनाइएको छ।
यस प्रकारका कार्यक्रमले सम्पदाको संरक्षणमा जनसहभागिता बढाउने विश्वास गरिएको छ।
