काठमाडौं । प्रिन्सिपल एसोसियसन अफ नेपाल (PAN)ले विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न माग गर्दै शिक्षा क्षेत्र सुधारका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
अध्यक्ष सुदामप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री सस्मित पोखरेलसमक्ष १० बुँदे सुझावपत्र बुझाएको हो।
पानले विद्यालय शिक्षामा पर्याप्त लगानी गरी गुणस्तरीय रूपान्तरण ल्याउन, सामुदायिक विद्यालयमा पुनःजागरण अभियान सञ्चालन गर्न तथा परीक्षा प्रणालीलाई डिजिटल प्रविधिमा आधारित बनाउँदै सरल र प्रभावकारी बनाउन सुझाव दिएको छ।
यसैगरी, समयानुकूल र व्यवहारिक पाठ्यक्रम विकास, विद्यालयलाई ‘डिजिटल लर्निङ हब’ का रूपमा रूपान्तरण, शिक्षकहरूको क्षमता विकास तथा उत्प्रेरणा अभिवृद्धि, र शिक्षक दरबन्दीको असन्तुलन मिलाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
सुझाव ग्रहण गर्दै मन्त्री पोखरेलले शिक्षा सुधारका लागि उपयोगी सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
