काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकले विपद्सम्बन्धी विषयहरूलाई तीन दिनभित्र वर्गीकरण गरी जोखिमका आधारमा प्राथमिकीकरण गर्ने निर्णय गरेको छ।
बैठकले चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने लक्ष्य पनि तय गरेको छ भने बाँकी काम आगामी आर्थिक वर्षमा समेटिने जनाइएको छ।
सुक्खायाम र वर्षायामलाई लक्षित गर्दै खडेरी, डढेलो, बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत यकिन गर्ने र अपुग स्रोत तीन दिनभित्र माग गर्ने निर्णय गरिएको छ।
उपलब्ध स्रोत सम्बन्धित मन्त्रालयको बजेटबाट व्यवस्थापन गरिनेछ भने अपुग भएमा अर्थ मन्त्रालयसँग समन्वय गरिने जनाइएको छ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पाँच दिनभित्र विपद् व्यवस्थापनका उपकरण तथा सामग्रीको एकीकृत विवरण तयार गरिनेछ।
विपद् व्यवस्थापन प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्ने र अन्तरदेशीय सूचना आदानप्रदानलाई समेत अगाडि बढाइने निर्णय गरिएको छ।
