स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा पनि अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू हुने जनाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बिदाका दिनमा नियमित सेवा प्रभावित भए पनि आकस्मिक (इमर्जेन्सी) र अन्तरङ्ग (भर्ना भएका बिरामीको उपचार) सेवा भने २४ सै घण्टा निरन्तर सञ्चालनमा रहनेछन्।
सरकारको हप्तामा दुई दिन बिदा दिने नीतिअनुरूप आइतबारका पूर्वनिर्धारित शल्यक्रियाहरू (ओटी) समेत बिरामीको अवस्थाअनुसार पुनः तालिका (रिसेड्युल) गरिने उल्लेख गरिएको छ। यसले स्वास्थ्यकर्मीको मनोबल बढाउने र बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ।
बिदाको समयमा बिरामीले समस्या नपरोस् भनेर अस्पतालहरूलाई सम्भव भएसम्म आवश्यक सेवा उपलब्ध गराउन, सेवा उपलब्ध नभएमा नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रिफर गर्न र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
त्यसैगरी, बिदाका दिनमा उपलब्ध सेवाबारे जानकारी अस्पतालको वेबसाइट तथा सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले अस्पताल सुधार कार्यविधि २०८२ को पूर्ण कार्यान्वयन गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणपछि स्वास्थ्य सेवा थप सुदृढ बनाइने प्रतिबद्धता पनि जनाएको छ।
यसअघि सरकारले चैत २२ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य संस्थामा भने शनिबार मात्र बिदा दिइएको थियो। अब भने नयाँ व्यवस्थाअनुसार दुवै दिन बिदा लागू हुने भएको छ।
