प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भयो।
१६२ रनको लक्ष्य पछ्याएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाउँदै सहज जित निकालेको थियो। आर्मीको जितमा इमरान शेखले अविजित ४६ रनको महत्वपूर्ण योगदान दिए। बसिर अहमदले ४५ रन बनाउँदा तृत राज दासले ३१ तथा कुशल मल्लले १७ रन थपे।
सुदूरपश्चिमका बलरमध्ये हेमन्त धामीले २ विकेट लिए भने बिकाश आग्री, शेर मल्ल र अशोक धामीले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा १६१ रनमै समेटिएको थियो। अशोक धामीले ४३ रन बनाउँदा किरण ठगुन्नाले ३५, नारायण जोशीले २९ र हेमन्त धामीले १६ रन जोडे।
सुदूरपश्चिमको सुरुवात भने कमजोर रह्यो। ओपनर अभिषेक पल ९ रनमै आउट भए भने खडक बोहरा र नरेन भट्टले १–१ रन मात्र बनाउन सके। राजु बोहरा र दीपक बोहराले समान ७–७ रन जोडे।
आर्मीका बलरहरू आकाश चन्द र शाहब आलमले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ विकेट लिए। बसिर अहमदले २ तथा कुशल मल्लले १ विकेट लिँदै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले।
