जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ। उत्कृष्ट प्रदर्शन गर्दै दुवै टोली उपाधि नजिक पुगेका छन्।
त्रिभुवन आर्मी क्लब ९ मध्ये ८ खेल जित्दै १५ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। यता सुदूरपश्चिम प्रदेशले ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक जोड्दै दोस्रो स्थान सुरक्षित गर्दै फाइनल यात्रा तय गरेको हो।
पीएम कपको इतिहासमा अहिलेसम्म विभागीय टोलीहरूको वर्चस्व देखिएको छ। नेपाल पुलिस क्लबले सर्वाधिक ४ पटक उपाधि जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २–२ पटक उपाधि हात पारेका छन्। यस संस्करणको डिफेन्डिङ च्याम्पियन भने नेपाल पुलिस क्लब नै हो।
एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
यसैबीच, क्यानले जय ट्रफी मेन्स इलिट कपको दायरा विस्तार गर्दै अब ६ टोलीलाई सहभागी गराउने निर्णय गरेको छ। अब प्रधानमन्त्री कपका शीर्ष ६ टोली—आर्मी, सुदूरपश्चिम, एपीएफ, मधेश, पुलिस र लुम्बिनी—जय ट्रफीका लागि छनोट हुनेछन्, जसले नेपालमा लामो फर्म्याट क्रिकेटको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
